बिहीबार दिउँसो २ बजे।
उनी सर्वोच्च अदालतको प्रतिक्षालयअघि उभिएकी थिइन्। आफूसँग आएका भाइ र
वकिलहरू गैसकेका थिए। उनी भने फैसला हुन्छ कि हुन्न होला भन्ने हुटहुटी
लिएर सर्वोच्च परिसरमै अल्झिएकी थिइन्।
पाँच जना न्यायाधीशको संवैधानिक इजलासमा एक बजे बहस सकिएपछि
प्रधानन्यायाधीशले साढे दुई बजे आउन भनेका थिए। एक घन्टामा उनी धेरैपटक
बस्ने, उठ्ने र यताउता गर्ने गरिरहिन्।
न्यायका लागि गर्नुपर्ने प्रतिक्षा धेरै लामो हुन्छ भन्ने उनलाई थाहा छ, तर पनि मन सधैं छट्पटिरहन्छ। यस्तो छटपटीको इलाज छैन।
एकजना आएर भने, ‘ल दिदी बधाइ छ।’
उनी अलमल्ल परिन्। ती मानिसले फेरि भने, ‘मुद्दा जितेकोमा बधाइ!’
‘अर्कै मुद्दा होला, तपाईं झुक्किनुभो!’ उनले ती मानिसलाई सम्झाइन्।
‘काँ झुक्किनु यी अनलाइनमा लेखिसकेको छ,’ उनले अड्डी छोडेनन्।
‘हैन होला, हामीलाई त प्रधानन्यायाधीशले साढे दुई बजे बोलाउनुभएको!’
‘तपाईं सावित्री श्रेष्ठ हैन र?’ ती मानिसले सोधे।
‘हो!’ उनले जवाफ दिइन्।
‘त्यही त तपाईंले मुद्दा जित्नुभयो क्या!’
उनी हानिएर संवैधानिक इजलासमा पुगिन्। त्यहाँ न्यायाधीशहरू आइपुगेका
थिएनन्। इजलास अधिकृतले उनले मुद्दा जितेको सुनाउँदै भने, ‘फैसला आउन त
केही समय लाग्छ। तपाईंको रिट जारी भयो।’
सावित्रीको मन भरिएर आयो र आँखा धमिला भए। ती धमिला आँखामा आफ्ना मृत भाइ र दाइको अनुहारको चित्र सल्बलायो।
न्याय पाएको महसुस भए पनि गुमेका दाजुभाइ त कहिल्यै फिर्ता आउने छैनन्।
जिन्दगीको क्षतिपूर्ति त कहाँ हुन्छ र? तर न्यायले पीडितको आत्मसम्मानको
रक्षा गर्दो रहेछ, सन्तोषको सास फेर्न सजिलो बनाउने रहेछ। १७ वर्षदेखि यही
सन्तोषको सास फेर्ने दिन कुरेर बसेको थियो उनको परिवार।
मुद्दा जितेको खुसीमा पनि सबैभन्दा बढी याद दाजुभाइको निर्मम हत्याकै आयो
सावित्रीलाई। जसलाई एमाओवादी नेता बालकृष्ण ढुंगेल र उनका साथीले
निर्ममतापूर्वक गोली हानेका थिए।
‘भाइको हत्याविरुद्ध जाहेरी दिनुभएको दाइको सबभन्दा बढी याद आयो,’
सावित्रीले भनिन्, ‘उहाँलाई उनीहरूले नमारेको भए मुद्दा जितेकोमा कत्ति
खुसी हुनुहुन्थ्यो।’
खुसीले पनि दुख सम्झाउने। मुटुको ढुकढुकी पनि बढ्यो, आँखा र गला दुवै अवरुद्ध भए।
उनलाई बधाइ दिन फोन आउन सुरु गरिसकेको थियो। आफूले भने बाआमालाई फोन गरिन्,
उनीहरूले पहिलै थाहा पाएछन्। उनको मन फेरि सन्तोषले भरियो।
सर्वोच्चबाट निस्केर घर आएपछि फेसबुकमा उनले दाइकी छोरीले जापानबाट पठाएको
मेसेज देखिन्, ‘छोरी भएर पनि हामीले बुबा र अंकलका लागि लड्न सकेनौं निनी
(फुपू), तपाईं नभएको भए हामीले न्याय कहिल्यै पाउने थिएनौं।’
बेलुका उनी न्याय पाएको सन्तोषी मन लिएर बुढा भएका बाबुआमा भेट्न माइत गइन्।
...
२०५५ सालमा भाइ उज्जनकुमार श्रेष्ठको हत्या भएको थियो। जिल्लामा माइलो दाइ
गणेशले नै यो मुद्दा लडेका थिए। मुद्दा नलड्न अनेक दबाब र धम्की आउँथे
उनलाई। त्यसैले उनी काठमाडौंमा बस्थे।
दाइ अदालतमा मुद्दा लड्थे, यता सावित्री पत्रिकामा समाचार दिन्थिन्। धेरैले
आफूलाई अन्याय परेको थाहा पाऊन् र न्यायको लडाइँमा साथ दिऊन् भनेर उनी
पत्रिकाहरूमा धाउँथिन्।
ठूला अखबारले उनलाई पत्याएनन् अनि उनले सानासाना पत्रिकामा भए पनि समाचार
छापिदिन अनुरोध गरिन्। हलकारालाई पैसा दिएर आफ्नो भाइको हत्याको खबर
सुनाइन्। सुनेको कुरा मानिसले बिर्सिए पनि।
२०५९ साल मंसिरमा धान थन्काउन माइला दाजु घर गएका थिए। एकदिन दिउँसो केही मान्छे घरमा आए। दाइकी छोरीलाई सोधे, ‘तिम्रा बा कहाँ छन्?’
उनले खेतमा देखाइदिइन्। तिनै मानिसले सावित्रीका दाइ गणेशलाई गोली हानेर
मारे। आफूले बुबालाई देखाएकाले ती मानिसले मारिदिए भन्ने पछुतोमा केही
समयपछि छोरीले आत्महत्या गरिन्।
दाजुको हत्या र भतिजीको आत्महत्यापछि त परिवार त्यहाँ टिक्नै सकेन।
ओखलढुंगा र रामेछापबीचको लिखुकोशी वारिपारी पर्ने आफ्नो थातथलो छाडेर
परिवारै काठमाडौं आयो।
त्यसपछिका वर्ष सावित्रीले शोकमा डुबेको आफ्नो माइतिलाई सम्झाइबुझाई गर्न
थालिन्। दाइको परिवार, भाइ–भतिजाहरू र बाआमालाई समाल्दैमा दिन बिते।
यता उज्जन हत्यामा जिल्लाले सर्वस्वसहित कैद सुनाएका बालकृष्ण ढुंगेललाई
पुनरावेदन अदालतले सफाइ दियो। फेरि यो मुद्दा सर्वोच्च अदालतमा गयो।
घटनाको १२ वर्षपछि २०६६ सालमा बालकृष्ण ढुंगेल दोषी ठहर भएर सर्वस्वसहित
जन्मकैद हुने सजाए पाएका थिए। ढिलो गरी फैसला पाए पनि सावित्रीलाई लागेको
थियो न्यायको लडाइँ जितियो। उनले सन्तोषको लामो सास लिएकी थिइन्।
त्यो बेला ढुंगेल एमाओवादीका समानुपातिक सभासद थिए। सर्वोच्च अदालतले
हत्यारा ठह¥याएका ढुंगेललाई संविधानसभा गेटमा प्रहरीले सलाम ठोक्थे।
प्रहरीकै लिस्टमा ढुंगेल फरार थिए। सावित्रीलाई लाग्थ्यो, आफूहरूमाथि मजाक
भैरहेको छ।
मजाक उनको मात्रै भएको थिएन, मुलुकको व्यवस्थाकै थियो। अदालतले हत्यारा ठहर्याएका व्यक्तिले देशको कानुन बनाउँदै थिए।
असह्य भएपछि फैसला कार्यान्वयन गरिपाउन फेरि सावित्रीले सर्वोच्च अदालतमा
रिट हालिन्। आजसम्म उनीहरुको लडाइँको प्रतिपक्षमा थिए बालकृष्ण ढुंगेल,
सरकार साथमा थियो। त्यही रिटबाट सुरु भयो उनको लडाइँ सरकारसँग।
त्यो रिटमा पनि सर्वोच्चले सरकारलाई भन्यो– ढुंगेललाई जेल हाल।
सरकारले टेरेन।
कानुन नै नटेर्नेसँग कसरी लड्ने भेउ नै पाउन सक्दिन थिइन सावित्री। पीडा,
रिस, आवेगको हुन्डरी चल्थ्यो मनमा। यी सबैलाई समालेर न्यायको यात्रामा
हिँड्नु कति कठिन थियो।
उनले केही सभासदसँग भेटिन्। कानुनको जोर नचल्ने राज्यमा सभासदको कुरा कसले टेर्छ र भन्ने उनलाई थाहै थिएन।
फेरि अर्को दिन एमालेका केही कार्यकर्ताको साथ लागेर उनी प्रधानमन्त्री माधव नेपाललाई भेट्न गइन्।
‘सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद गरेका ढुंगेललाई पक्राउ किन
नगरेको?’ उनले सोधिन्, ‘उसले गर्दा मेरो दुई दाजुभाइ र भतिजीको ज्यान गयो,
परिवारको उठिबासै भयो सरकारले हामीलाई न्याय दिन्न?’
उनको प्रश्नपछि माधव नेपालले भने, ‘तपाईं आउन ढिलो गर्नुभयो। मुद्दा फिर्ता
गर्नुप¥यो भन्दै बाबुराम, प्रचण्ड र ढुंगेल आएका थिए मैले हुन्छ भनिदिएँ।’
सावित्रीलाई भाउन्न भयो।
प्रधानमन्त्रीको कुर्चिमा बसेका नेपालले फेरि भने, ‘तपाईं ढिलो हुनुभयो। मैले उहाँहरूलाई बचन दिइसकेँ।’
कानुनभन्दा पनि ठूलो नेताको बचन!
यस्तो होला भन्ने उनले सोचेकै थिइनन्। जनताको अभिभावक जस्तो सरकारकोमा लिएर गएको आश फर्किँदा पिडामा बदलिएको थियो।
तर, मनमा बसेको चट्टान जस्तो प्रतिज्ञा थियो— भाइका अपराधी जेल जानैपर्छ।
सरकार फेरियो। तिनै बाबुराम सरकारको कुर्चिमा पुगे। र, त्यही सरकारले ढुंगेलको मुद्दा फिर्ताको सिफारिस गर्यो।
फेरि सावित्री रिट लिएर सर्वोच्चमा गइन्। वकिलले रिट लेखिसकेपछि सही गर्न दिने बेला फोन आयो उठाइन्।
‘तँलाई हामीले हेरिरहेका छौं, के गर्दै छेस् सब थाहा छ।’
धम्की सुनेर मुटु फुल्यो तै पनि थामिन र सही गरिन्। रिट दर्ता भयो।
धम्कीहरुले उनको बाटो नछेकेको हैन। बाआमाले पनि आत्तिएर उनलाई नरोकेका
हैनन्। तर न्याय प्राप्तिको यात्रा रोकिएन। उनका श्रीमानले सधैंभरि उनैलाई
साथ दिए। घरको काम चटक्कै छाडेर सावित्री अनेक सभा, कार्यक्रम र धर्नामा
हिँडिन्।
मानवअधिकार आयोगदेखि अन्य संघसस्था, मिडिया सबैको ध्यान गयो। सबैले सरकारको
विरोध गरे। आफ्नो दाजुभाइको हत्यारालाई कारबाही माग गर्दै सडकदेखि सदनसम्म
पुगिन्।
उनी बाआमा र परिवार लिएर तत्कालीन राष्ट्रपति रामवरण यादवको ढोका पनि घच्घच्याउन पुगिन्।
‘नआत्तिनुस् कानुन र सर्वोच्च अदालतको आदेशभन्दा माथि कोही छैन,’ राष्ट्रपतिले भने, ‘हामी पनि छैनौं।’
बल्ल सावित्रीलाई ढुक्क भयो। यस्तो लाग्यो, राज्यको हात काम्दैकाम्दै भए पनि आफ्नो शिरमा छ।
सर्वोच्चले ढुंगेलको मुद्दा फिर्ताको सिफारिस तत्काल कार्यान्वयन नगर्न
भन्यो। अर्कोतिर ढुंगेललाई पक्राउ गर्न सरकारले नै चाहेन। पाँचवर्ष
सर्वोच्च अदालतमा उनको रिटमाथि बहस भयो।
यी पाँचवर्षमा उनले राज्यको निरिह अनुहार, दण्डहिनताको कुरुप दृश्य
नेताहरुका निर्मम भनाइ र अपराधीको दादागिरी देखिन्। उनको विश्वास अदालतमा
मात्रै अडिन्थ्यो। न्यायको चाहना बोकेर उनका आँखा अदालतको ढोकामा निनिर्मेष
अडिइरहे।
...
नारायणहिटी उत्तरपट्टि अफिसमा आफ्नो लडाइँको कहानी सुनाउँदै गर्दा सावित्री ट्याबमा आफ्ना दाजुभाइ मारिएको ठाउँको फोटो हेर्दै थिइन्।
भनिन्, ‘मैले धेरै कुरा देखेँ सुनेँ, अनेकौंपटक मेरो मुटु हल्लियो तर बिर्सिनै नसक्ने गरी मनचैं एकपटक चिसो भयो।’
तत्कालीन सरकारका महान्यायाधिवक्ता मुक्ति प्रधानले बहसका बेला भनेछन्,
‘सावित्री बिहे गरेर अर्काको घरमा गैसकेकी छोरी हुन्। उनी त पराई भैसकिन्,
एकाघरकी हैनन्। मुद्दा फिर्ताविरुद्धको यो रिट हाल्ने उनको अधिकार छैन।’
हुन त बहसमा वकिलले जस्ता पनि तर्क गर्छन् भन्ने उनलाई थाहा थियो तर
प्रधानले इजलासमा यस्तो बहस गर्दा सावित्रीका आँखा थामिएनन्। बहसका यी पाँच
वर्षमा अनेकौंपटक प्रधानले त्यही कुरा भने होलान्। अनेकौंपटक उनको मुटु
हल्लियो। मन चिसो भयो।
‘सुरुमा डर पनि लाग्यो। कतै म पराई नै त होइन भनेजस्तो पनि भयो। दुई
दाजुभाइ र मेरो कोख एउटै थियो तर जसले पनि आएर मलाई पराई भन्दिन सक्ने रहेछ
भनेर मन अमिलो हुन्थ्यो,’ उनले भनिन्।
उज्जन भाइ र उनको उमेर धेरैले फरक थिएन। एउटै कक्षामा पढ्थे साथीभाइजस्ता
थिए। जब उनी मारिए भन्ने सुनिन् काठमाडौंबाट ओखलढुंगा हानिइन्।
‘भाइलाई निर्मम तरिकाले हत्या गरिएको हो भन्ने चिह्न खेतमा बाटोभरि र
लिखुखोलाको किनारमा छरपस्टै थियो,’ उनले सम्झिइन्, ‘अहिले त्यहाँ जाँदा पनि
मलाई आफ्नो भाइ यतै छ कि जस्तो लाग्छ।’
लिखुकोशीमा ठूलो ढुंगा छ, उनलाई लाग्छ त्यहीँ उनको भाइको अन्तिम सास गएको
थियो। त्यो दिन उनी त्यही ढुंगामा पुगेपछि डाँको छाडेर रोएकी थिइन् रे।
‘त्यो दिन मैले डाँको छोड्दै चर्को स्वरमा कसम खाएकी थिएँ, भाइ तेरो
हत्यारालाई मैले छोड्ने छैन, उसलाई जसरी पनि सजाय दिलाएरै छाड्छु।’
...
उनको भाइको हत्या गर्नेलाई अन्ततः अदालतले सजाय सुनायो। उनको लडाइँ भने
सकिएको छैन। ढुंगेल त ढिलोचाँडो कैद जाने नै छन्। सावित्रीको लडाइँ भने तब
मात्र थामिनेछ जब आफ्ना दाजुलाई गोली हानेर ज्यान लिनेहरू पनि जेल जाने
छन्।
‘म त फेरि पनि यसरी नै लड्न परे लड्ने हो, दाइ त फर्केर आउने छैनन् तर
हामीलाई न्याय मिले उनको आत्माले शान्ति पाउने छ,’ उनले त्यही ट्याबमा फोटो
हेर्दै भनिन्।
0 comments:
Post a Comment