Home » » नेपालको राष्ट्रपतिको उम्मेदवार बन्ने? तपाईँले पनि पाउनु हुन्छ, यसरी

नेपालको राष्ट्रपतिको उम्मेदवार बन्ने? तपाईँले पनि पाउनु हुन्छ, यसरी



सहमतिमा राष्ट्रपति चयन गर्ने आइतबार साढे ४ बजेसम्मको म्याद गुज्रिएपछि अब गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति र उपराष्ट्रपति बहुमतबाट चुन्न मतदानै हुने भएको छ। अरु पदको चुनाव र राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावमा फरक छ। अरु चुनावमा सा‍ंसदहरुले देखिने गरी मत हाल्छन्। यसमा भने गोप्य मतदान हुन्छ। हामीले आमचुनावमा मतदान गरे जस्तो सा‍ंसदहरु लाइन बसेर मतपत्रमा उम्मेदवारलाई मत हाल्छन् र मतपत्र मतपेटिकामा खसाउँछन्‌। अनि मतपेटिकाबाट मतपत्र निकालेर गनिन्छ। जसले २९९ मत ल्यायो, ऊ राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी घोषित हुन्छ। तपाईँलाई पनि राष्ट्रपति बन्न मन लागेको छ? राष्ट्रपति नै नबने पनि राष्ट्रपतिको उम्मेदवारसम्म बन्न मन लागेको छ कि? स‍ंविधान अनुसार पाउनु हुन्छ। प्रधानमन्त्री र सभामुख उपसभामुख बन्न पाउनुहुन्न थियो किनभने त्यसका लागि सांसद नै हुन जरुरी हुन्छ। तर राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न सां‍सद भइराख्नु पर्दैन।

अनि के के चाहिन्छ त योग्यता? स‍ं‍विधानमा यस्तो छ व्यवस्था

एउटा मुख्य शर्त उमेरको हदबन्दी हो। तपाईँको उमेर ४५ वर्ष पूरा भएको हुनुपर्छ। कुनै कानुनले अयोग्य हुनुभएन। यहाँ अर्को एउटा शर्त पनि छ स‍ंघीय संसदको सदस्य हुन योग्य भएको। त्यो भनेको के त ? त्यो भनेको यो हो-

यसले नेपालको नागरिक हुनुपर्ने, फौजदारी कसूरमा सजाय नपाएको हुनुपर्ने र लाभको पदमा बहाल नरहेको हुनुपर्ने बाँकी शर्त राखेको छ।

यी सब शर्त पूरा हुन्छ भने तपाईँ राष्ट्रपतिको उम्मेदवार बन्न पाउनु हुन्छ। त्यसका लागि कात्तिक १० गते अर्थात् म‍ंगलबार बिहान १० बजेदेखि १ बजेभित्र तपाईँले उम्मेदवारीको प्रस्ताव दर्ता गराउनु पर्छ।

त्यसका लागि तपाईँलाई दुई जना मतदाताको साथ चाहिन्छ एक जना प्रस्तावक बन्नुपर्‍यो अनि अर्को समर्थक। राष्ट्रपति निर्वाचनमा सांसदहरुले भोट हाल्ने भएको हुनाले प्रस्तावक र समर्थक सांसद नै चाहियो। दुई जना सांसदलाई फकाउनुस्, कम्तिमा राष्ट्रपतिको उम्मेदवार त भएँ भनेर फूँइ लाउन पाउनु हुन्छ। बायोडाटामा सगर्व धस्काउनुस्, छोरानातिहरुलाई गर्वका साथ सुनाउनुस्- म पनि राष्ट्रपतिको उम्मेदवार बनेको भनेर 

यस्तो हुन्छ तपाईँले भर्नुपर्ने उम्मेदवारी मन्जुरीनामा फाराम-

अनि यो प्रस्तावकले भर्नुपर्ने-

यो चाहिँ समर्थकले भर्नुपर्ने

ल मैले बाटो देखाइदिइहालेँ, अब उम्मेदवारी दिने हो भने सोच्नुस् है। म‍ंगलबारको म‍ंगलमय साइतमा जानुस् प्रस्ताव दर्ता गर्न बिहान १० बजेदेखि दिउँसो १ बजेको भित्र। यसो सा‍ंसदहरुलाई फकाउनुस्, देशविदेशको च्यानल फिट गर्नुस्, के थाहा फ्याट्ट तपाईँ पो राष्ट्रपति बनिहाल्नुहुन्छ कि। नभए हिङ नभए पनि हिङ बाँधेको टालो छँदैछ भने जस्तै उम्मेदवार त हुँ नि भनी फूर्ति लगाउनुस्। शुभकामना छ मेरो ।

Share this video :

0 comments:

Post a Comment

 
Copyright © 2013. Love Zone - All Rights Reserved

Distributed By Free Blogger Templates | Tum hi ho lyrics | How to get rid of hiccups

Proudly powered by Blogger