हजुरबुवा र म बिच कुराकानी भैरहेको छ । हजुरबुवालाई म पुराना कुराहरु सोध्दैछु, हजुरबुवा जवाफ दिनुहुन्छ, मेरो मन मा खुल्दुली झनै बढ्दै जान्छ । म सोध्छु “बा” (हजुरबुवा) दिनुहुन्छ, कुनै ईन्टरभ्यु लिएजस्तो । दशैँको कुराबाट सुरु भएको हाम्रो गन्थन धेरै पछाडि का पुराना कुराहरु सम्म पुगे ।
“पहिले नुन कसरी ल्याउनुहुन्थ्यो ?”, बा जवाफ दिनुहुन्छ – “दशैँ अगाडि माझिलाई १०-१५ रुपैँया दिएर लेकबाट आलु ल्याउन लागाइन्थ्यो, अनि तिहार पछि बेच्न पठाइन्थ्यो” । “वास्तवमा बाहुन बाठा नै हुन्, सबै माझिलाई फर्किँदा आफ्नो लागि एक पाथि नुन ल्याइ’दे भनिन्थ्यो, अनि सबैले ल्याउने भएकोले, धेरै भइहाल्थ्यो, वर्षभरिलाई पुग्थ्यो” ।
मेरो प्रश्न –“काम गरेको ज्याला दिइन्थ्यो त ?”, “काँ’दिनु, उनीहरुले लगेको ऋण नै फर्छौट हुँदैनथियो, तर काममा आएकालाई भने खाजा खुवाइन्थ्यो” – हजुरबुवाले भन्नुभयो ।
यस्तै कुराहरु भइरहेको वखत मैले प्रसंग बदलेँ । हुन त मलाई बुढा पुरानका “गफ” सुनिरहन मन लाग्छ । त्यही भएर पनि मैले कुरा अन्तै तिर मोड्ने हिसाबले सोधेँ “बा, यो विर, मसान, भुत प्रेत भन्ने हुन्छ ?”, “भूत भन्नाले याद आयो, एकपटक मेरो भुत सँग जम्काभेट भएको छ, केटा” । “ओहो ! भुतलाई नै भेट्नु भो ?” मेरो कौतुहलता ।
हजुरबुवा, भुमिसुधार को खरदार हुनुहुन्थ्यो, शिक्षक हुनुभन्दा पहिले, तर अहिले रिटायर भै’सक्नुभएको छ । स्टेशनरी सामान लिएर माथि रामेछाप डाँडा को अड्डामा जानुथियो । भुमिसुधार का खर्दार बाजे (हजुरबुवा) ले भरियाहरु लगाएर सामान लिएर उकालो लाग्नुभयो । बाटोमा रात परेकोले त्यसरात त्यहिँकतै चिनेको घरमा वास बस्नुभयो । भोलिपल्ट विहान ४ बजेतिरै हजुरबुवा “म हिँडे” भनेर झिसमिसे अँध्यारोमा नै उकालो लाग्नुभएछ, घरवेटि ले चिया खाएर जानु भनेको थियो रे, तर हजुरबुवा म गइहाल्छु, बाहुन को छोरो नुहाउनुपर्छ भन्दै उकालो लाग्नुभयो । हजुरबुवा झिसमिसे अँध्यारोमा बढ्दै हुनुहुन्थ्यो । हजुरबुवा ले आफ्नो अड्डा छेउमा एकाबिहानै कोहि बसिरहेको देख्नुभयो, घुम्मलुङ्ग लुगा ओडेर बसेको जस्तो । (वास बसेको ठाउँबाट अड्डा धेरै टाढा थिएन, आफन्त पर्ने को घर बाटोमा नै भएकोले वास बसिएको थियो ।)
सँधै आफूले पिसाव गर्ने ठाउँतिर देखिएको, आकृति देखिएपछि हजुरबुवा झसंग हुनुभयो किनभने त्यसठाउँमा हस्पिटल थियो जहाँ ल्याएको एउटा बिरामी त्यसै ठाउँमा मरेको थियो, महिना दिन अगाडि । हजुरबुवालाई के गरौँ, कसो गरौँ भन्ने भयो । भर्खरको ठिटो भएपनि असाध्यै डर लागेर आयो । मनलाई दह्रो पारेर अगाडि बढ्न खोज्नुहुन्छ । तर खै, के ले – के ले रोक्छ । यसो हेर्नुहुन्छ, अगाडि जाउँ भने अगाडिबाट झम्टा दे’ला अनि फर्कियौँ भने पनि लखेट्ला भन्ने चिन्ता । डेरा त अब नजिकै थियो तर पनि पाइला अगाडि बढ्दैन । पेट कटक्क काटेर आयो, छेउमा मकैघारी थियो बा त्यतै पस्नुभयो । अनि निस्केर फेरी हिँडौ भन्ने विचार लाग्छ तर फेरी पनि पेट कटक्क काट्यो । अनि त पखाला नै चल्न सुरु गर्यो, झन् अब त रगत मासी नै पनि पर्यो केही मिनेट को अन्तराल मा, बा साह्रै आँत्तिनुभयो । बल्लतल्ल उज्यालो भयो । बा, विस्तारै पाइला सार्नुहुन्छ, उज्यालो भएपछि अगाडि बढ्नुभयो तर त्यो अघिको आकृति उज्यालोमा पनि त्यहिँ थियो । नजिकै पुगेपछि थाहा पाइयो , “त्यो त रुख को ठूटो पो रहेछ”, जसलाई पहिले सायद याद गरिएको थिएन या भनौँ “भूत” भन्ने शब्दले मनमा डेरा जमाएकोले होशहवास उडेको थियो ।
जसोतसो आफ्नो डेरा मा त पुगियो तर रगतमासी पर्न छाडेन । हजुरबुवा साह्रै सिकिस्त हुनुभएकोले धामी लगाइयो तर हजुरबुवालाई “आफूलाई के भएको भन्ने थाहा छ”, अनि धामीमाथि पनि विश्वास थिएन । त्यही भएर डाक्टरी औषधी लिनुभएछ, हजुरबुवा बेलुका भने केही सद्दे हुनुभएछ । त्यसदिन देखि भुत, प्रेत, विर, मसान आदिको विश्वास लाग्न छाड्यो रे ! “भुत भन्ने कुरा हाम्रो मन मा हुँदोरहेछ, मन दह्रो पार्यो भने केही हुँदैन” – हजुरबुबाले आफ्नो कथा टुङ्ग्याउनु भयो ।
अनि मेरो कुरा गर्ने हो भने, मलाई भुतप्रेत मा विश्वास लाग्दैन तर पनि बेला-बेला मा त्यहाँ त्यस्तो भयो भन्ने कुराहरु सुन्नेगर्नाले कहिलकाँहि, यस्तो आत्माको अस्तित्व छ कि भन्ने पनि लाग्छ । साथीहरु, के तपाईलाई भुत प्रेत मा विश्वास लाग्छ ??
(साभार)
Home »
» हजुरबुबा र भुत
0 comments:
Post a Comment