बिराटनगर, ०९। यो ‘लभ जोन‘ हो । लभ जोन अर्थात माया गर्नेहरुको क्षेत्र । यहाँ माया नगर्नेहरुलाई प्रवेश निषेध छ । माया गर्नेहरु भनेर प्रेमी-प्रेमिकालाई मात्रै सोच्नुभयो कि ? त्यस्तो होइन । आमाबाबु र छोराछोरी बीचको माया, दाजुभाइ र दिदीबहिनीहरु बीचको माया, छिमेकी-छिमेकीबीचको माया, जिल्लाबासीहरुबीचको माया अनि नेपाली-नेपालीबीचको माया । अझै पर जाने हो भने पृथ्वीबासीहरुबीचको माया । मायाको दायरा निकै फराकिलो छ ।
त्यसो भए कहाँ छ त यो लभ जोन ? यो तपाई तपाईंको निकै नजिक छ । अझै भन्दा तपाईंको हातहातमा र आफ्नै आँखा अगाडि । नेपालमा सामाजिक सञ्जालको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ । विशेषगरी फेसबुकमा नेपालीहरुको उपस्थिति उल्लेखनीय छ । फेसबुकको विश्वब्यापी लोकप्रियताको प्रभाव नेपालमा नपर्ने कुरै भएन ।
फेसबुकमा जोडिने नेपालीहरुको संख्या जसरी दिनप्रतिदिन बढिरहेको छ, त्यसैगरी नेपाली पेज र ग्रुपहरु पनि लोकप्रिय बन्दैछन् । यस्तैमा ‘लभ जोन‘ नेपालकै सबैभन्दा ठूलो फेसबुक ग्रुपको रुपमा अघि आएको छ । मंगलबार यो समाचार तयार पार्दासम्म यसमा जोडिने नेपालीको संख्या ५ लाख १ हजार 5 सय २५ पुगिसकेको छ ।
करिब १ वर्षअघि पूर्वी नेपालमा अवस्थित विराटनगरका महेन्द्र खड्काले यसको सुरुवात गरेका थिए । आफूले लामो समय बिताउने फेसबुकमा माया गर्नेहरुको क्षेत्र बनाउने आफ्नो अभियान पाँच लाख नेपालीबीच पुगेकोमा खड्का कम्ति खुसी छैनन् ।
उनी यसलाई अझै धेरै नेपालीबीच पुर्याउने अभियानमा छन् ।
0 comments:
Post a Comment