Home » » अन्तत नाका खुकुलो पार्न नेपाल भारतसामु झुक्ने संकेत

अन्तत नाका खुकुलो पार्न नेपाल भारतसामु झुक्ने संकेत

भारत र मधेसलाई सम्वोधन गर्दै मन्त्रिपरिषदको विशेष प्रस्ताव
Kp oli & modi
२३ कात्तिक, काठमाडौं । सीमा नाकाहरुमा देखिएको पारवहन तथा आपूर्तिको अवरोध हटाउन नेपाल सरकारले मधेसकेन्दि्रत दलहरु र छिमेकी देश भारतलाई सम्बोधन गर्दै ‘विशेष प्रस्ताव’ पारित गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले विशेष प्रस्ताव पारित गर्दै पारवहन र आपूर्तिमा देखिएको अवरोध हटाउन भारत सरकारलाई औपचारिक आग्रह गरेको हो । साथै मधेसी दलका मागहरु सम्वादबाटै समाधान गर्न तयार रहेको सरकारले स्पष्ट पारेको छ ।
भारतलाई सम्बोधन गर्दै मन्त्रिपरिषदबाट पारित विशेष प्रस्तावमा भनिएको छ- ‘नेपाल भारतका सीमा नाकाहरुमा भइरहेको पारवहन तथा आपूर्ति व्यवस्थामा देखिएको अवरोधको स्थिति समाप्त गरी औषधी, खाना पकाउने ग्यास, र पेट्रोलियम पदार्थहरु लगायत अत्यावश्यक वस्तुहरुको आयात निर्यात नियमित गर्न एवं दुई देश वीचको सम्बन्धलाई सुमधुर तथा सुदृढ तुल्याउने कार्यमा योगदान गर्न मन्त्रिपरिषदको यो बैठक छिमेकी मित्रराष्ट्र भारतसँग आग्रह गर्दछ ।’
क्याबिनेटमा मधेस आन्दोलनबारेसमेत छलफल भएको थियो । बैठकले मधेस केन्दि्रत दलहरुले उठाएका अधिकांश माग पूरा भएको निष्कर्ष निकालेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।
मधेसी मोर्चाका मागहरुलाई सम्बोधन गर्दै पारित मन्त्रिपरिषदको विशेष प्रस्तावमा भनिएको छ-‘वर्तमान सरकार तराई र देशभरि नै जनतामा परिरहेको मर्का र असुविधाप्रति अत्यन्तै दुःखित र चिन्तित छ । विद्यमान समस्या समाधानका लागि अधिकतम लचकताका साथ सम्वादको बाटोबाट शान्तिपूर्ण ढंगले अघि बढ्न तत्पर रहेको कुरा सबैमा विश्वास दिलाउन चाहन्छ ।’
सरकारले तराई मधेसमा आन्दोलनरत दलका मागलाई ध्यानमा राखी वार्ताको माध्यमबाट समस्या समाधान गर्ने प्रयास भइरहेको जनाएको छ । साथै आन्दोलनका क्रममा घाइते भएकाहरूको निशुल्क उपचारको व्यवस्था भएको, झुठा ठहरिएका मुद्दाहरू फिर्ता लिने प्रक्रिया आरम्भ भएको र मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भई कार्यान्वय नभइसकेको बैठकपछि प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
‘अन्य विषयहरूमा पनि यथोचित रुपमा निष्कर्ष र सहमतिमा पुग्ने प्रयास जारी छ,’ सरकारले मधेसी मोर्चालाई भनेको छ- ‘यस पृष्ठभूमिमा तिहार, छठ र ल्होसार जस्ता चाड-पर्वहरुका सम्मुखमा बन्द र सीमा-भन्सार धर्ना कार्य बन्द गरी जनताको जीवन सामान्य तुल्याउन तथा वार्ताको सहज वातावरण सिर्जना गर्न मन्त्रिपरिषदको यो बैठक आन्दोलनरत दलहरुलाई हार्दिक आव्हान गर्दछ ।’
ShareThis Copy and Paste

Share this video :

0 comments:

Post a Comment

 
Copyright © 2013. Love Zone - All Rights Reserved

Distributed By Free Blogger Templates | Tum hi ho lyrics | How to get rid of hiccups

Proudly powered by Blogger